फरार ९ जना प्रतिवादी पक्राउ, कानुनी प्रक्रिया अघि बढाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१७ पुस,कलैया, बारा ।
प्रहरी कारबाहीको क्रममा जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत, कलैयाबाट दण्ड–सजाय तोकिएका तथा चालु मुद्दामा वारदातपछि फरार रहेका ९ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार खोजतलासको क्रममा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई मिति २०८२ पुस १६ गते पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको हो।

पक्राउ पर्नेहरूमा चोरी, चेक अनादर, लेनदेन बिगो तथा सवारी ज्यानसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्। चोरी मुद्दामा जरिवाना तोकिएका व्यक्तिदेखि चेक अनादर मुद्दामा विभिन्न रकम जरिवाना तोकिएका प्रतिवादीसमेत पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये जितपुरसिमरा उपमहानगरपालिका क्षेत्रका विनय कुमार साह कानु, रामाकान्त हजरा दुसाद, राममिलन प्रसाद कलवार तथा बाबुलाल साह कानु रहेका छन्। यस्तै महागढीमाई नगरपालिका क्षेत्रका नन्दकिशोर जयसवाल, राजकिशोर सिंह र तनविर देवान पक्राउ परेका हुन्। चोरी मुद्दामा कलैया उपमहानगरपालिका–२३ का सुरज पटेल पनि पक्राउ सूचीमा रहेका छन्।

सवारी ज्यान मुद्दामा ४ महिना कैद सजाय तोकिएका बाबुलाल साह कानुलाई पनि प्रहरीले नियन्त्रणमा लिई अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले फरार प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने र अदालतका आदेश कार्यान्वयनमा कडाइ गरिने जनाएको छ।

Leave a Comment