वीरगञ्जमा कर्फ्यू जारी, मङ्गलबार बिहान ८ बजेसम्म आवतजावत निषेध

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ पुस,वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म कर्फ्यू लागू हुने गरी आदेश जारी गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सुरक्षा संवेदनशीलता बढेपछि चार किल्ला तोकेर कर्फ्यू लागू गरिएको हो। कर्फ्यू क्षेत्रभित्र पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावरहाउस चोक र दक्षिणतर्फ शंकराचार्य चोक रहेका छन्।

प्रशासनले अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कर्फ्यू उल्लङ्घन भएमा सुरक्षाकर्मीले कडा कदम चाल्न सक्ने चेतावनीसमेत दिइएको छ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन यसअघि निषेधाज्ञा जारी गरिएको थियो। तर अवस्था थप जटिल बन्दै गएपछि कर्फ्यू आदेश लागू गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीय प्रशासनले शान्ति, सद्भाव र संयम अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।

Leave a Comment