निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यावसायिक संस्था सूचीकृत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, माघ ३ (२०८२) : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री ढुवानी गर्न १३ वटा व्यावसायिक संस्थालाई सूचीकृत गरेको छ। हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायत संवेदनशील सामग्री सुरक्षित रूपमा पुर्‍याउने उद्देश्यले यी संस्था छनोट गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार फागुन २१ गते, २०८२ का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कुरियर, ट्रक तथा कन्टेनर सेवामार्फत निर्वाचन सामग्री ढुवानी गरिनेछ। कुरियर सेवातर्फ साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेसनल लजिस्टिक प्रालि छनोट भएका छन्।

हेलिकोप्टर सेवाका लागि पनि आयोगले फर्म तथा कम्पनीहरूलाई सूचीकृत हुन आह्वान गरे तापनि कुनै पनि कम्पनीले आवेदन नदिएको जनाएको छ।

त्यस्तै, ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउने ११ वटा फर्म सूचीकृत भएका छन्। सूचीकृत फर्महरूमा हिमालयन कार्गो लजिस्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदीति ट्रान्सपोर्ट, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि रहेका छन्।

निर्वाचन आयोगले पुस १७ गते प्रकाशित सार्वजनिक सूचनाका आधारमा प्राप्त निवेदनहरूलाई तोकिएका शर्त, प्राविधिक क्षमता तथा वार्षिक औसत कारोबारको मूल्यांकन गरी ती संस्थाहरूलाई सूचीकृत गरिएको जानकारी दिएको छ।

आवश्यकताअनुसार सूचीकृत संस्थामार्फत निर्वाचन सामग्री ढुवानी गरिने आयोगले जनाएको छ।

Leave a Comment