आज रातिदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा, उम्मेदवारीमा धरौटी तोकियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगले आचारसंहिता लागू हुने जानकारी सरकारलाई औपचारिक रूपमा गराइसकेको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा आचारसंहिता लागू हुने निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार आज राति १२ बजेदेखि आचारसंहिता कार्यान्वयनमा आउनेछ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा धरौटी रकम पनि तोकिएको छ। आयोगले जारी गरेको सूचनाअनुसार उम्मेदवारी दर्ताका क्रममा १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि भने धरौटी रकम ५ हजार रुपैयाँ कायम गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्वाचन तालिकाअनुसार प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने आयोगले जानकारी दिएको छ।

Leave a Comment