काठमाडौँ, शनिबार, माघ २४, २०८२ : निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेका उम्मेदवारमध्ये १० जनाले अझै जवाफ नदिएको पाइएको छ।
निर्वाचन आयोगले कुल ३४ जना उम्मेदवार तथा राजनीतिक दललाई आचारसंहिता उल्लंघनको आरोपमा स्पष्टिकरण सोधेकोमा २४ जनाले भने तोकिएको समयभित्र जवाफ बुझाइसकेको आयोगले जनाएको छ। बाँकी १० जनाबाट अहिलेसम्म कुनै स्पष्टीकरण प्राप्त नभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आचारसंहिताको प्रभावकारी पालना गराउने र उल्लंघनका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोगले प्राप्त उजुरीहरूमाथि आवश्यक जाँचबुझ तथा कारबाहीको प्रक्रिया अघि बढाइरहेको छ। यसका लागि केन्द्रदेखि जिल्लासम्म आचारसंहिता अनुगमन संयन्त्र सक्रिय बनाइएको आयोगको भनाइ छ।
केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयमार्फत जिल्लास्तरमा निगरानीलाई थप प्रभावकारी बनाइएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषयबाहेकका अन्य विषयमा अनुगमन गर्ने अधिकार दिइएको छ भने आर्थिक विषयको अनुगमनका लागि प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई जिम्मेवारी तोकिएको छ।
आयोगका अनुसार जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने काम तीव्र रूपमा भइरहेको छ। जिल्लाबाट प्राप्त आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीहरूलाई नयाँ ढंगले छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।



