गृहमन्त्रीमा पुनरागमन गरेका सुधन, नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीमा महावीर

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, जेठ २६ — गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट निर्वाचित सांसद गुरुङ पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएका छन्। उनी यसअघि पनि गृहमन्त्री नियुक्त भएका थिए। तर सम्पत्तिसम्बन्धी विषयमा विवाद र आलोचना चुलिएपछि उनले पदबाट राजीनामा दिएका थिए।
यता म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित सांसद महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हालेका छन्। सूचना प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका पुनको नियुक्तिलाई सरकारले नयाँ सोच र प्रविधिमैत्री नीतिको संकेतका रूपमा प्रस्तुत गरेको छ।
दुवै मन्त्रीको सपथसँगै सरकारले गृह प्रशासनको प्रभावकारिता र विज्ञान–प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a Comment