निर्वाचन अभियानमा होमिन कांग्रेसको निर्देशन: ७७ जिल्लाका सभापतिलाई केन्द्रीय परिपत्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, माघ १३ — नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका ७७ वटै जिल्ला सभापति तथा क्षेत्रीय कार्यसमितिलाई चुनाव केन्द्रित हुन औपचारिक निर्देशन जारी गरेको छ।

पार्टी महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमार्फत विशेष महाधिवेशनपछि बनेको नयाँ केन्द्रीय कार्यसमितिको नेतृत्वमा कांग्रेस अब पूर्ण रूपमा निर्वाचन अभियानमा जुटिसकेको सन्देश दिइएको छ।

परिपत्रमा पार्टीभित्रका मतभेद र प्रतिस्पर्धालाई चुनावी एकतामा बाधक नबनाउन आग्रह गरिएको छ। “जित–हारभन्दा माथि उठेर विधि र विधानलाई स्वीकार गर्दै सबै तहका नेता–कार्यकर्ता एकढिक्का हुनुपर्ने बेला आएको” उल्लेख गर्दै टोलदेखि केन्द्रसम्म र देश–विदेशमा रहेका कांग्रेस समर्थकलाई पनि सक्रिय भूमिकाका लागि आह्वान गरिएको छ।

कांग्रेसले पार्टी रुपान्तरणको यात्रामा अघि बढिसकेको दाबी गर्दै सुधार (रिफर्म) को प्रक्रिया सुरु भइसकेको जनाएको छ। यही ऊर्जा र आत्मविश्वासका साथ चुनावी तयारीलाई तीव्र बनाउन निर्देशन दिइएको हो।

परिपत्रमा विशेष रूपमा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ र सहयोग रहने विश्वास व्यक्त गरिएको छ। लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गरी सबै नेताले पार्टी एकताको पक्षमा उभिने अपेक्षा पार्टीले गरेको छ।

विगतका कमजोरीमाथि आत्मालोचना गरिएको र उपलब्धिलाई संस्थागत गर्ने संकल्प पनि दस्तावेजमा समेटिएको छ। गत भदौ २३–२४ मा जेनजी पुस्ताद्वारा भएका प्रदर्शनपछि बद्लिएको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कांग्रेसले उच्च मनोबल, एकता र जिम्मेवार प्रतिबद्धताको खाँचो औँल्याएको छ।

पार्टीले यो निर्वाचनमा व्यापक जनमत सिर्जना गरी आफ्ना उम्मेदवारलाई विजयी गराउन सबै तहका निकायले रणनीतिक र प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ।

Leave a Comment