१२ गते सांसदहरूको शपथपछि मन्त्रिपरिषद् गठन प्रक्रिया अघि बढ्ने
५ चैत, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको तयारी तीव्र पारेको छ। बिहीबार काठमाडौंमा बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउने लक्ष्यसहित आवश्यक परामर्श अघि बढाउने निर्णय गरेको छ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, प्रधानमन्त्री नियुक्ति र शपथको मिति लगभग तय भए पनि अन्य संवैधानिक निकाय तथा राजनीतिक पक्षहरूसँग समन्वय आवश्यक भएकाले औपचारिक निर्णय भने बाँकी छ। उनले मन्त्रिपरिषद् गठन पनि सोही दिन गर्नेगरी छलफल भइरहेको जानकारी दिए, तर मन्त्रिपरिषद्को आकार र सदस्यबारे टुंगो लाग्न बाँकी छ।
उपसभापति डा. स्वर्णिम वाग्लेले १२ चैतमा सांसदहरूको शपथ सम्पन्न भएसँगै सरकार गठन प्रक्रिया थप अगाडि बढ्ने बताए। संघीय संसद् सचिवालयले सोही दिनका लागि शपथ कार्यक्रम तय गरिसकेको छ।
निर्वाचनअघि गरिएको सहमतिअनुसार रास्वपाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ। सोही अनुसार उनलाई संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्रीमा नियुक्त गर्ने रणनीति बनाइएको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै झण्डै दुई तिहाइ बहुमत हासिल गरेको छ। यही बहुमतका आधारमा पार्टीले एकल सरकार गठन गर्ने तयारी गरिरहेको छ।
यसैबीच, संघीय संसद् सचिवालयले चैत १६ गते संसद् अधिवेशन बोलाउने तयारी गरेको छ। यसबारे सर्वदलीय बैठकमा समेत जानकारी गराइसकिएको छ।

