कुष्ठरोगका आधारमा विवाह बदर गर्ने कानुनी व्यवस्था खारेज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, वैशाख १४ — सर्वोच्च अदालतले कुष्ठरोगका आधारमा विवाह बदर गर्न मिल्ने कानुनी व्यवस्था खारेज गर्ने महत्वपूर्ण फैसला सुनाएको छ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान रहेको संवैधानिक इजलासले उक्त निर्णय गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार मुलुकी देवानी संहिता ऐन, २०७४ मा रहेको कुष्ठरोगसम्बन्धी प्रावधान अब लागू नहुने भएको छ। अदालतले आधुनिक चिकित्सा प्रणालीका कारण कुष्ठरोग पूर्ण रूपमा निको हुन सक्ने र संक्रमित व्यक्ति सामान्य जीवनमा फर्किन सक्ने आधारमा यस्तो व्यवस्था विभेदकारी ठहर गरेको हो।
यसअघि अधिवक्ता प्रल्हाद महतलगायतले दायर गरेको रिटमा कुष्ठरोगलाई आधार बनाएर विवाह बदर गर्न मिल्ने प्रावधान मानवअधिकार र समानताको सिद्धान्त विपरीत भएको जिकिर गरिएको थियो।
अदालतको यस निर्णयसँगै कुष्ठरोगका कारण विवाह सम्बन्ध तोड्न पाइने पुरानो कानुनी व्यवस्था हटेको छ भने रोगीप्रति हुने सामाजिक विभेद न्यूनीकरणतर्फ महत्वपूर्ण कदम मानिएको छ।

Leave a Comment