काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) शक्ति राम र एक युवती मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार बिहान स्थानीयले वन क्षेत्रमा दुई फरक रुखमा झुण्डिएको अवस्थामा सडेगलेका कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले मृतकको पहिचान असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीका रूपमा गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण, काभ्रेमा कार्यरत शक्ति राम वैशाख १९ गते दुई दिनको बिदा लिएर निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। परिवारले खोजतलासका लागि निवेदन दिएपछि सशस्त्र प्रहरीले वैशाख २१ गते नै जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जानकारी गराएको थियो।
यता शर्मिला चौधरी पनि वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे आएकी थिइन्। उनी सम्पर्कविहीन भएपछि उनका भाइले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासको निवेदन दिएका थिए। प्रहरी अनुसन्धानका क्रममा शर्मिलाको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएको थियो।
प्रहरीले दुवै शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
एक महिनादेखि बेपत्ता सशस्त्र प्रहरी असई र युवती काभ्रेमा मृत फेला
Leave a Comment
Leave a Comment






