नवलपरासीका जनप्रतिनिधि मौलापुरको विकास हेर्न पुगे

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 57
पढ्न लाग्ने समय : 2 मिनेट

२० माघ,बारा: मौलापुर नगरपालिकामा तिब्रगतिमा भईरहेको विकास कार्य हेर्न, बुझन, सिक्नका लागि अन्य जिल्लाका जनप्रतिनिधिहरु आउँन थालेका छन् ।

मौलापुरमा भएको विकास एवं नमुना कार्य उनीहरुले आफ्नो पालिकामा समेत लागु गर्ने चाहना व्यक्त गरेका छन् ।

बर्दघाट सुस्ता पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हेयात खान धुनियाको नेतृत्वमा ३० सदस्यीय टोली शुक्रबार मौलापुरको विकास, नीति, एवं बिभिन्न कार्यको अवलोकन गरेका छन् ।

उनीहरुले मौलापुरमा लागु भएको विभिन्न योजनाहरु आफ्नो पालिकामा समेत कसरी लागु गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा व्यक्त गरेका थिए ।

सरावल गाउँपालिका वडा नं. ७ का अध्यक्ष खानले मौलापुर नगरपालिकामा भएको विकास एवं यहाँका नीतिहरु आफ्नो पालिकामा समेत लागु गर्ने बताए । जनप्रेमी, राष्ट्रप्रेमी, विकासप्रेमी नीतिबाट प्रभावित भएर मौलापुरको भ्रमण एवं अवलोकनमा आफूहरु यहाँ आएको उनले बताए ।

मौलापुर नगरपालिकाले लिएको शुन्य करको नीति सारै राम्रो रहेको उनले बताए ।

मौलापुर नगरपालिकामा शिक्षाका लागि छात्राहरुलाई दिईने साईकल, ल्यापटप, शिक्षकको व्यवस्थाका साथै धुलोमुक्त अभियान अन्तरगतको ग्यास सिलिण्डर वितरण, कानून अनुसार उमेर पुगेका छोरीको विवाहमा दिइने २५ हजार नगद, स्वास्थ्य, शिक्षा, यातायात, कृषी लगायतका क्षेत्रमा भईरहेको विकास एवं बनाइएको नीतिले यहाँका नागरिकले राम्रो सेवासुविधा पाएको वडा अध्यक्ष खानले बताए ।

भ्रमणमा आएकाहरुले मौलापुरको शून्य कर नीति, निःशुल्क बिजुली–पानी, शिक्षा र स्वास्थ्यको बिकास एवं एकीकृत दलित बस्ती लगायतका भौतिक पुर्वाधारका बिकासबाट प्रभावित भएका छन् ।