२ भाद्र,रौतहट : रौतहटमा अंशबण्डा सम्बन्धी विवाद साधारण पारिवारिक झगडा मात्र नभई कानुनी नाटकमा परिणत भएको छ। चन्द्रपुरकी रोशनी कुमारी साहले अदालतमा पेश गरेको कागजात नै असत्य भएको खुलासापछि उनी स्वयं आरोपको घेरामा परेकी छन्।
आँसु देखाउने रोशनी, कागजमा धोका
सार्वजनिक मञ्चमा आँसु बगाउँदै आफू पीडित भएको प्रचार गर्ने रोशनीले अदालतसमक्ष भने अर्कै खेल खेलिन्। उनले आफ्नी दिदी ललिता कुमारी रौनियारसँग १९ लाख ऋण लिएर जग्गा खरिद गरेको दाबी गरिन्। तर मालपोत कार्यालयको अभिलेखले त्यो दाबीलाई पूर्णतया खण्डन गरिदियो। अभिलेख अनुसार, उनले २०७६ असोज ८ गते गणेश पौडेलबाट ३७०२ कित्ता नम्बरको ८–८ धुर जग्गा रु. ५ लाख १० हजारमा खरिद गरेकी थिइन्।
श्रीमानको खुलासा
शाखा अधिकृत मिश्रीलाल साहका अनुसार उक्त जग्गा आफ्नै कमाइबाट खरिद गरी श्रीमतीको नाममा दर्ता गरिएको थियो। “सन्तानको भविष्यको लागि माया र विश्वासकै आधारमा नाम राखिएको हो। तर अहिले दिदी–भिनाजु मिलेर हडप्ने षड्यन्त्र भएपछि बाध्य भएर अंशबण्डा मुद्दा हाल्नुपर्यो,” साहले भने।
ऋणपर्चीमा ठूलो प्रश्न
रोशनीले देखाएको १९ लाखको ऋणपर्चीलाई साहले असम्भव ठहराए। उनका भनाइमा प्रहरीमा कार्यरत भिनाजुको साधारण तलबले त्यस्तो रकम उपलब्ध नै गराउन सक्दैन। “यदि रकम दिइएको हो भने स्रोत गैरकानुनी हुनुपर्छ, नभए सीधै अदालतमा झुट बोलेकी हुन्,” उनले कटाक्ष गरे।
फरक–फरक बयानले शंका गहिरियो
रोशनी स्वयंले पनि कहिले श्रीमानकै सहयोगमा, कहिले आफ्नै कमाइमा जग्गा किनेको भन्दै सार्वजनिक रूपमा फरक–फरक बयान दिइरहेकी छन्। सामाजिक सञ्जालमा उनका विरोधाभासी भिडियोहरू झन् भाइरल भइरहेका छन्।


