१६ पालिकामा नेपाल शिक्षक महासंघको धर्ना कार्यक्रम सम्पन्न, मागपत्र बुझाइयो

बिश्व खबर
पढ्न लाग्ने समय : 3 मिनेट

१३ भाद्र,कलैया : नेपाल शिक्षक महासंघको केन्द्रीय प्रथम चरणको आन्दोलन अन्तर्गत शुक्रबार देशव्यापी रूपमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ । यही कार्यक्रमअन्तर्गत बाराका १६ वटा पालिकामा शिक्षकहरूले एकसाथ धर्ना दिएका छन् ।

कलैया नगरपालिकाको कार्यालय अगाडि बिहान ११:३० बजेदेखि दिउँसो १:३० बजेसम्म भएको धर्नाको नेतृत्व नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीले गरेका थिए । उनलाई शिक्षक नेता अजय तिवारी, जियालाल चौधरी, मनिष यादव लगायतका नेताहरूले साथ दिएका थिए ।

धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्‍बाट पारित भएका ९ बुँदे सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । महासंघका अनुसार ती बुँदाहरू अझै पनि कार्यान्वयनमा आउन नसक्दा शिक्षकहरू निराश बनेका छन् ।

महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा पनि सहमति विपरीतका प्रावधान राखिएको भन्दै आपत्ति जनाएको छ ।

शिक्षक महासंघका प्रमुख मागहरू :

अस्थायी प्रकृतिका शिक्षकहरूको पदपूर्ति आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र खुलाबाट २५ प्रतिशत हुनुपर्ने । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला राखिएको भन्दै आपत्ति ।

स्थायी शिक्षकको आवधिक बढुवाको व्यवस्था विधेयकमा नसमेटिएको ।

अस्थायी अवधिको गणना नगर्नु अन्यायपूर्ण भएको ।

म्याद सकिएका अध्यापन अनुमती पत्रको म्याद थप्ने प्रावधान छुटाइएको ।

शिक्षकको विभागीय कारबाहीसम्बन्धी प्रावधान सहमति विपरीत राखिएको ।

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको ।

बालकक्षा शिक्षकको पद र सेवा–सुविधा प्रष्ट पारिएको छैन ।

संस्थागत विद्यालयका शिक्षकका लागि अव्यवहारिक सरुवा प्रणाली ल्याइएको ।

शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्थामा महासंघको विरोध ।

शिक्षण काउन्सिलको व्यवस्था र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व नराखिएकोमा असन्तुष्टि ।

महासचिव तुलाबहादुर थापाले भने, “सरकारसँग भएका सहमति तोडिएको छ, विधेयकले शिक्षकको हकहितको गम्भीर अवमूल्यन गरेको छ ।”

ज्ञापन–पत्र बुझाइयो

धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित विभिन्न नारा लगाउँदै विरोध जनाएका थिए । कार्यक्रमपछि शिक्षक महासंघका प्रतिनिधिहरूले पालिकाका प्रमुख कार्यकारी अधिकृतमार्फत सरकारलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका छन् ।

आन्दोलनका थप चरण

नेपाल शिक्षक महासंघले सबै सहमति प्रतिवेदनमा समावेश गरी प्रतिनिधि सभामा पेस नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ । महासंघका अनुसार आवश्यक परे दोस्रो चरणदेखि थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ ।

शिक्षकहरूको मागलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन नगरे आन्दोलन चर्किँदै जाने चेतावनी दिँदै कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Comment