बारा – २ असोज ।
जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।
मधेस प्रदेश जनमत पार्टी संसदीय दलका नेता महेश यादवले केन्द्रीय कार्यालयलाई कारबाहीका लागि सिफारिस गरेपछि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
केन्द्रीय उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले बिहीबार पत्र लेखेर तीन दिनभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरेका छन् ।
पार्टी तथा प्रदेशको संसदीय दलले मुख्यमन्त्रीबाट फिर्ता हुन पटक पटक भने पनि मुख्यमन्त्री सिंह फिर्ता नभएको भन्दै संसदीय दलका नेता यादवले साधारण सदस्य नरहने गरी बिहीबार अनुशासनको कारबाही गर्न केन्द्रीय सचिवालयलाई सिफारिस गरेका हुन् ।
मधेश प्रदेश संसदीय दलले सरकारमाथि विश्वास नरहेको र बाहिरिने निर्णय गर्दा समेत सिंह पदमा रहेको पत्रमा लेखिएको छ ।
मुख्यमन्त्री सहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरी मुख्यमन्त्री सहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिएको र तपाईं स्वयं फेसबुक मार्फतबाट राजीनामा दिएकोमा सो को समेत अवहेलना गर्दै तपाईंले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको’ भन्दै स्पष्टीकरण सोधिएको छ ।
अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पुर्याएको हुँदा स्पष्टीकरण सोधेको अनुशासन समितिले जनाएको छ ।
सिंहलाई कारबाही गर्ने चेतावनी सहित अनुशासन समितिको पत्रमा भनिएको छ,‘तपाईंलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्नु हुन अनुरोध छ ।’
मुख्यमन्त्री सिंहलाई साधारण सदस्यबाट किन कारबाही नगर्ने अनुशासनले सोध्यो स्पष्टीकरण



Leave a Reply