आइतबार र सोमबार सार्वजनिक बिदा, विपद् व्यवस्थापनमा सरकार सतर्क

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज १८ – अविरल वर्षापछि देशभर उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार राजमार्गहरूमा खसेका पहिरो, अवरुद्ध यातायात र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उच्च सतर्कताका कारण थप दुई दिन कार्यालयहरू बन्द गरिने भएको हो। यसअघि भोलिदेखि सरकारी कार्यालय खुल्ने तय भए पनि नयाँ परिस्थितिलाई मध्यनजर गर्दै निर्णय परिवर्तन गरिएको हो।

यसैबीच, गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग सुरक्षाबारे विस्तृत छलफल सम्पन्न भएको छ। उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय भएको छ भने आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

सरकारले जनतालाई सम्भावित जोखिमका क्षेत्रमा सजग रहन अपील गर्दै, उद्धार तथा राहत कार्यका लागि सम्पूर्ण निकायहरूलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

अबको दुई दिन सार्वजनिक बिदा भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र मौसम विभागले जारी गर्ने अपडेटहरूमा ध्यान दिन गृह मन्त्रालयले आग्रह गरेको छ।

Leave a comment