एमाले नेता पासाङ शेर्पा बहुविवाह प्रकरणमा पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १८ कात्तिक २०८२ (मङ्गलबार)

नेकपा (एमाले)का नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मङ्गलबार साँझ धुम्बाराही क्षेत्रबाट पक्राउ गरिएको हो। अदालतले दिएको फैसला कार्यान्वयन गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

शेर्पामाथि बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

उनको मुद्दा यसअघि एमाले सचिवालयको बैठकमा पनि उठेको थियो। सो बैठकमा सचिव योगेश भट्टराईले पार्टीभित्र देखिएका सांस्कृतिक विचलनका विषयमा अनुशासनात्मक कारबाही गर्नुपर्ने धारणा राखेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले यो विषयलाई सामान्य ठहर गर्दै तत्काल कारबाही नगर्ने अडान लिएका थिए।

पासाङ शेर्पा पहिले अशोक रायसँग छुट्टिएर डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको पार्टीमा गएका थिए। पछि उनी पुनः एमालेमा फर्किएका हुन्।

Leave a comment