निर्वाचन तयारी : भारतबाट थप २२३ गाडी नेपाल ल्याइँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २१ माघ २०८२ – आगामी निर्वाचनलाई लक्षित गर्दै भारतबाट नेपालमा थप २२३ वटा गाडी ल्याइँदैछ। यो गाडीहरूको तेस्रो खेप हो, जसलाई भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउँदैछ।

भारतीय दूतावासका स्रोत अनुसार यस खेपमा १५० वटा डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ वटा डबल क्याब पिकअप महिन्द्रा बोलेरो समावेश छन्। यसअघि पहिलो खेपमा ६१ वटा गाडी नेपाल भित्राइएको थियो, जुन माघ ६ गते भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

हालसम्म भारत सरकारले साना–ठूला गरी जम्मा ५३८ वटा गाडी निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउने बताएको छ। गृह मन्त्रालयले निर्वाचन प्रयोजनका लागि आवश्यक गाडी भारत सरकारसँग अर्थ मन्त्रालयमार्फत माग गरेको थियो। सबै गाडीहरू भारतीय दूतावासबाट गृह मन्त्रालयलाई उपलब्ध गराइने र आवश्यकता अनुसार विभिन्न जिल्लामा वितरण गरिने बताइएको छ।

गत भदौ २३ र २४ गते जेनजीन पुस्ताका युवाहरूले भ्रष्टाचार र सुशासनको माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी हुँदा भवन र सवारी साधनहरू नष्ट भएका थिए। त्यसैकारण पनि निर्वाचन तयारीका क्रममा गाडीको माग धेरै जिल्लाबाट आएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

“हामी निर्वाचनको तयारीमा छौं, तर गाडीको अभाव भएको कारण धेरै जिल्लाबाट माग भइरहेको छ,” मन्त्रालयका एक अधिकारीले बताए।

निर्वाचनपछिका गतिविधिहरूमा पनि यी गाडीहरू नेपाल सरकारले प्रयोग गर्ने योजना बनाएको छ।

Leave a Comment