१७ भाद्र,बारा: हालै मात्र सरुवा भई बारामा कार्यभार सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलले जिल्लामा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पत्रकारहरूसँग आयोजित परिचयात्मक कार्यक्रममा उहाँले जिल्लाबासीको विश्वास जित्दै प्रशासनलाई जिम्मेवार र उत्तरदायी बनाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो। “सहकार्य र हातेमालोमार्फत मात्र सुशासन सम्भव हुन्छ,” पौडेलले भन्नुभयो।
उहाँले हाल जिल्लामा देखिएको मुख्य चुनौती राष्ट्रिय परिचयपत्र (एनआईसी) सेवामा अवरोध रहेको बताउनुभयो। “माथिल्लो निकायको सर्भर डाउन हुँदा सेवाग्राहीलाई दैनिक समस्या भोग्नुपरेको छ, तर हामी यहाँको टिमसहित समाधानमुखी ढंगले अगाडि बढिरहेका छौँ,” उहाँको भनाइ थियो। कर्मचारी अभाव रहे पनि छिटोछरितो र प्रभावकारी सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीबारे पनि उहाँले धारणा राख्दै दर्ता सम्बन्धी अधिकार स्थानीय तह र प्रदेश सरकारलाई रहेकाले जिल्ला प्रशासनले सहकार्यका आधारमा अघि बढ्ने स्पष्ट गर्नुभयो। “क्षेत्राधिकारभन्दा बाहिर गएर कुनै कार्य नगर्ने, बरु कमजोरी सच्याएर मात्र अघि बढ्ने हाम्रो नीति हुनेछ,” उहाँले बताउनुभयो।
“सुशासन भनेको पारदर्शिता, जवाफदेहिता र जनताप्रतिको उत्तरदायित्व हो,” सीडीओ पौडेलले जोड दिनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसहित प्रशासनका अन्य अधिकारीहरूको उपस्थिति थियो।


